कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक


३१ जेष्ठ २०७९, मंगलबार


कञ्चनपुर । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ ।

‘केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ’, शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भने,“पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ ।”

किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उनले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताए ।’पाठ्यपुस्तक छैनन् । कक्षा कोठामा त्यतिकै बस्नु भएन’, उनले भने, ‘कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउने गरेका छौँ ।’ कक्षा ४, ७ र ९ को कोर्स नै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उनले बताए ।

शुक्लाफाँटाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । सुगमको क्षेत्र भए पनि पाठ्यपुस्तक नपुग्नु बिडम्बनानै भएको पूर्व शिक्षक शेरबहादुर भण्डारी बताउँछन् । ‘पाठ्यपुस्तक समयमै नपुगे विद्यार्थीले कसरी पढ्न सक्छन् । विद्यालयमा पढाएको कुरालाई घरमा दोहोर्‍याउनका लागि पाठ्यपुस्तक नै चाहिन्छ’, उनले भने, ‘पाठ्यपुस्तकको व्यवस्थाका लागि स्थानीय तहले पनि दायित्व वहन गर्नुपर्छ । त्यसो गरेको देखिँदैन ।’

पुनर्वास नगरपालिका– ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीका शिक्षक विजय उपाध्याय विद्यालयमा पढ्ने ६० प्रतिशत जति विद्यार्थीले मात्रै नयाँ पाठ्यपुस्तक पाएको बताउँछन् । ‘विद्यार्थीको सङ्ख्या अनुसारको पाठ्यपुस्तक माग गरेकै छौँ’, उनले भने, ‘जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीले पाठपुस्तकनै पुर्‍याउन सकिरहेको छैन । पाठ्यपुस्तक पाएका विद्यार्थीले समेत पुरै सेट पुस्तक पाएका छैनन् । एक दुई पुस्तकको अभाव नै रहेको छ ।’

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङख्या भने थोरै छ । कक्षा कोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहोर्‍याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ ।

‘शिक्षकले विद्यालयमा मौखिक रुपमा पढाएका विषय घर आउँदासम्म बिर्सीसकेका हुन्छौँ’, कक्षा ९ मा पढ्दै आएका विद्यार्थी अजय चौधरीले भने, ‘पाठ्यपुस्तक भए पढ्न सजिलो हुन्थ्यो पाउन सकेका छैनौँ । कहिले पाइने हो पत्तो छैन ।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख ध्रुव पन्त भने सुदूरपश्चिमका नौ वटै जिल्लाका ७० देखि ८० प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको दाबी गर्छन् । ‘कुनै कुनै कक्षाको पुरै सेट पुग्न सकेको छैन’ उनले भने, ‘अर्को हप्ताभित्रै अपुग भएका किताबसमेत आइपुग्छन् । पाठ्यपुस्तक नै नपुगेका विद्यालयमा समेत छिटो भन्दा छिटो कसरी पाठ्यपुस्तक पुगाउन सकिन्छ । त्यसका लागि काम अगाडि बढाएका छौँ ।’

अपुग भएका २० हजार पुस्तक माग गरेको उनले बताए । ‘काठमाडौँबाट पुस्तक ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘बाढी पहिरोका कारण सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा पाठ्यपुस्तक पुग्न ढिलाइ हुन गएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक चलिसकेकाले चाँडै अपुग पाठ्यपुस्तक विद्यालयमा पुग्छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस