राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन


३१ जेष्ठ २०७९, मंगलबार


मोरङ । सङ्घीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ ।

सो गाउँपालिकामा रहेका नौ वटा वडामध्ये प्रत्येकमा चार वटाका दरले केन्द्र राखी आगामी १५ दिनसम्ममा विवरण सङ्कलन गरिने छ ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण सङ्कलन अभियानको सोमबार शुभारम्भ गर्दै सरकारले सुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सबैलाई सेवा लिनुपर्नेमा जोड दिए ।

उनले सरकारले दिने सबै प्रकारका सेवा यस परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सबै नेपालीलाई परिचयपत्र बनाउन आग्रह गरे ।

जिल्लाको १७ पालिकामध्ये सात वटा पालिकामा परिचयपत्रका लागि विवरण सङ्कलनको काम सम्पन्न भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयमा चार वटा स्टेसन राखेर विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

गत असोज ४ गतेबाट जिल्लामा सुरु भएको सो अभियानमा अहिलेसम्म दुई लाखभन्दा नागरिकको विवरण सङ्कलन गर्ने काम भइसकेको प्रजिअ दाहालले जानकारी दिए ।

परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताका आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा बनाउँदा बसाइसराइको कागजपत्र पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

मिक्लाजुङका अध्यक्ष वविकुमार राईले घर आँगनमा आएको सेवालाई उपयोग गरी अभियान सफल बनाउन नागरिकसँग आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस