वडाध्यक्ष र सदस्यलाई निलम्बन गर्न अख्तियारले काट्यो पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वडाध्यक्ष र सदस्यलाई निलम्बन गर्न अख्तियारले काट्यो पत्र


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही ईश्वरपुर नगरपालिका ११ का वडाध्यक्ष र दुई सदस्यलाई निलम्बन गर्न पत्र काटेको छ। 

स्थानीय तह निर्वाचन २०७९ बाट पुनः निर्वाचित वडाध्यक्ष राम दुलार साह र सदस्य उमेश रायलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। 

उनका अनुसार उनीहरूविरुद्ध एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भई विशेष अदालत काठमाडौँमा अख्तियारले २०७८ पुस १४ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको आयोगले जनाएको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कसुरको आरोप लागेको कुनै व्यक्ति वा राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ। यही कानूनी व्यवस्था कार्यान्वयन गराउन आयोगले सम्बन्धित निकायलाई पत्र पठाएको हो।

यसअघि पनि आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष गरी चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न भनेको थियो। 

आयोगले भ्रष्टाचारको मुद्दामा सजाय पाएका तथा मुद्दा विचाराधीन अवस्थामा रहेका कैलाली मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर ३ का अध्यक्ष नन्दराम गिरी, नुवाकोटको विदुर नगरपालिका ९ का वडाध्यक्ष हरिराम भण्डारी र अछाम पञ्चदेवल विनायक नगरपालिका ७ का अध्यक्ष सुरतबहादुर रावललाई निलम्बन गर्न भनेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस