४ लाख मेट्रिक टन मल तत्काल चाहियो : अधिकारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

४ लाख मेट्रिक टन मल तत्काल चाहियो : अधिकारी


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए ।

उनले भने,‘सबैभन्दा ठुलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले चाहिएको छ । हाम्रो माननीय कृषि मन्त्रीले भारतसँग केही मेट्रिक टन डेढ लाख मेट्रिक टनजस्तो ल्याउन जीटूजीमार्फत ल्याउन खोज्नुभयो भन्ने सुनियो तर भारतले भन्यो ६५ हजार मेट्रिक टनभन्दा बढी दिन सक्दैनौँ भन्यो । त्यो पनि कहिले ल्याउने हो थाहा छैन । असोजमा हो कि बाटैतिर छ कि १ हाम्रो मुख्य चासो कहिले, कति मल आउँछ ? हामीलाई चाहिने चार लाख मेट्रिक टन धान बालीको लागि म कहिले ल्याउनुहुन्छ ? यो अत्यावश्यक छ । त्यो मल आजै चाहियो, अहिल्यै चाहियो ।’ किसानले तत्काल मल खोजिरहेकाले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने उनको माग थियो ।

स्थगन प्रस्ताव ल्याएकोप्रति सत्तारुढ दलका सांसदहरूले असन्तुष्टि जनाएका थिए । अधिकारीले भने सत्तारुढ दलका सांसदहरूले प्रतिनिधिसभा नियमावली पढ्न सुझाए ।

एमाले सांसदहरूले ल्याएको स्थगन प्रस्तावले संसद्को सुन्दरता उजागर गरेको उनको तर्क थियो । उनले भने, ‘संसद्को सुन्दरतालाई उजागर गरेको छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद १२ अनुसार स्थगन प्रस्ताव राखिएको हो ।’

काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले भने संसद् भएपछि यस्ता प्रस्ताव आउने भन्दै एमालेप्रति व्यङ्ग्य गरेका थिए । उनले भने, ‘जसरी आएको भए पनि किसानका लागि आवश्यक प्रस्ताव हो । यसलाई स्थगन प्रस्तावको सट्टा अरू प्रस्तावको रूपमा आएको भए राम्रो हुन्थ्यो । यी सबै खालका प्रस्ताव तब आउने रहेछ जब संसद् हुन्छ ।’

अहिले मलको अभाव हुनुमा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रणाली नबसालेको र मल खरिदमा अनियमितता गरेकाले भएको विश्वकर्माको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस