सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौँ रकम चाहिन्छ : महामन्त्री थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौँ रकम चाहिन्छ : महामन्त्री थापा


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व मन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरे डाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौँ रकम आवश्यक पर्ने बताएका छन् । यद्यपि आगामी वर्षको बजेटबाटै केही रकम त्यसका लागि छुट्याउन सकिने उनको सुझाव छ ।

उनले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्‍लाई जानकारी गराइदिन पनि सहरी विकास मन्त्रीलाई आग्रह गरेका छन् ।
नेता सांसदले फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले हालै गरेका पहलको प्रशंसा गर्दै पछिल्लो समय देखिएको समस्याबारे जानकारी दिन आग्रह गरेका हुन् । उनले मङ्गलवार संसद्मा यस्तो बताएका हुन् ।

उनले विवाद तथा सवाल जवाफ गर्न भन्दा पनि काठमाडौँको फोहोर व्यवस्थापनमा कस्ता समस्या कहाँ देखिए भन्नेबारे जानकारी गराइदिन आग्रह गरेका थिए । यस्तै नेता थापाले फोहोर व्यवस्थापनको काम एकै पटक समाधान गर्न कठिन हुने पनि बताएका थिए ।

आगामी वर्षको बजेटबाटै पनि ती स्थानको लागि रकम छुट्याउन सकिने उनको भनाइ थियो । नेता थापाले पछिल्लो समय सिसडोलवासीसँग फोहोर फाल्न सहमति भएको तर मङ्गलवार बिहानै स्थानीयले फोहोर फाल्न नदिएको बारे पनि संसद्मा बताएका थिए ।

यस क्रममा उनले विदेशका केही अभ्यासको प्रसङ्ग जोड्दै काठमाडौँको फोहोर व्यवस्थापनबारे सबै मिलेर दिगो समाधान खोज्नु पर्ने बताएका थिए । साथै यसअघि गरिएका वाचा पूरा गर्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस