आज बजेट : कर्मचारीको तलब बढ्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज बजेट : कर्मचारीको तलब बढ्ने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बताएको छ ।

ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतको भनाई छ ।

सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको छ । मन्त्रालय स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक-दुई वर्ष घट्न सक्छ ।’

सरकारले बजेटमार्फत निजामती कर्मचारीहरूको तलब बढाउने तयारी पनि गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरूको छ । तर देश आर्थिक सङ्कटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ । यद्यपि कर्मचारीको तलबमा सामान्य वृद्धि हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

यसअघि योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर, त्योभन्दा ठुलो आकारमा बजेट आउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस