निर्वाचन शान्तिपूर्ण भएन, यस्तो पञ्चायतमा पनि हुँदैनथ्यो : ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्वाचन शान्तिपूर्ण भएन, यस्तो पञ्चायतमा पनि हुँदैनथ्यो : ओली


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन शान्तिपूर्ण नभएको निष्कर्ष सुनाएका छन् ।

उनले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी निर्वाचनमा राज्य संयन्त्र दुरुपयोग गरिएको बताए ।

नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा सुरु छलफलमा बोल्दै ओलीले निर्वाचनको दिन आफूलाई पर्याप्त सूचना नआएकाले आमरूपमा शान्तिपूर्ण नभएको प्रतिक्रिया दिएको बताए ।

‘मैले शान्तिपूर्ण भयो होला भन्ने ठानेको थिएँ । दुर्गम र दूर दराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए,’ ओलीले भने ।

देशका कुनै पनि स्थानमा प्रतिपक्षका कारण चुनाव स्थगित नभएको ओलीले दाबी गरे । उनले २०७४ सालको चुनावमा यही गठबन्धन सरकारमा भए पनि निर्वाचन यस्तो भद्दा नभएको बताए ।

ओलीले भने, ‘यही गठबन्धन थियो, तर यस्तो आक्रामक र हिंसात्मक खालको चुनाव त्यो बेला भएको थिएन । अहिले त नयाँ कीर्तिमान नै भयो । पञ्चायतकालमा पनि यस्तो नाङ्गो ढङ्गले राज्य संयन्त्रको दुरुपयोग भएको थिएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस