स्थानीय तहको निर्वाचनमा भक्तपुरमा काँग्रेस पहिलो दल, एमाले दोस्रो बन्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थानीय तहको निर्वाचनमा भक्तपुरमा काँग्रेस पहिलो दल, एमाले दोस्रो बन्यो


१० जेष्ठ २०७९, मंगलबार


भक्तपुर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामको आधारमा भक्तपुरमा नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन वटा नगरपालिकाको नेतृत्व गर्दै पहिलो पार्टी बनेको नेकपा एमाले यस पटकको निर्वाचनमा भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको नेतृत्व गुमाउँदै र सूर्य विनायक नगरपालिकामा मात्रै खुम्चिँदै दोस्रोमा पुगेको हो ।

भक्तपुरका चार पालिकामध्ये काँग्रेसले मध्यपुरथिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रमुखमा विजयी भएसँगै पहिलो पार्टी बन्न सफल भएको छ । भक्तपुर जिल्लाको कूल ३८ वडामध्ये काँग्रेस एक्लैले १५ वटा वडाध्यक्षमा विजयी भएको छ । समग्रमा भक्तपुर जिल्लामा कूल जनप्रतिनिधिमध्ये ६३ काँग्रेसबाट विजयी भएका छन् ।

एमालेले सूर्य विनायक नगरपालिकाको प्रमुख तथा उपप्रमुख र चाँगुनारायण नगरको उपप्रमुखमा चित्त बुझाउनु परेको छ । जिल्लामा कूल नौ वटा वडाको वडाध्यक्षमा मात्रै एमाले विजयी भएको छ । एमालेले जिल्लामा कूल ६५ जना विजयी भएका छन् ।
जिल्लामा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले नगर, उपप्रमुखसहित १० वटै वडाका वडाध्यक्ष र सदस्यसहित एकलौटी विजय हासिल गरेको छ भने चाँगुनारायणको एउटा वडामा सबै नेमकिपाले जित हासिल गरेको छ । नेमकिपाले जिल्लामा कूल १२ वटा वडामा वडाध्यक्षमा जित हासिल गरेको छ । नेमकिपाको ५४ जना विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने काँग्रेससँगको गठबन्धनमा दुई वटा वडाको वडाध्यक्षमा मात्रै विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) ले भने गठबन्धनको तर्फबाट मध्यपुरथिमि नगरपालिकाको उपप्रमुखमा एक जना मात्रै विजयी भएको छ । गठबन्धनबाटै वडा सदस्यमा उम्मेदवारी दिए पनि माओवादी केन्द्रका उम्मेदवार विजयी हुन सकेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस