हेटौँडा उपमहानगर एकीकृत समाजवादीको कब्जामा, पहिलो महिला मेयर बनिन् लामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेटौँडा उपमहानगर एकीकृत समाजवादीको कब्जामा, पहिलो महिला मेयर बनिन् लामा


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामा हेटौँडा उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेकी छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा हेटौँडाको पहिलो महिला मेयर निर्वाचित भएकी हुन् । यसअघि २०७४ मा नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी लामाले एमालेका पौडेललाई दुई हजार एक सय ६७ मतान्तरले पराजित गरेकी हुन् ।

लामाले २३ हजार ७५ र पौडेलले २० हजार नौ सय ८ मत ल्याएका छन् । मतको आधारमा तेस्रो भएका राप्रपाका दीपक सिंहले २० हजार ६ सय ३१ मत ल्याए । १९ वडाबाट ७३ हजार ४ सय १४ मतदान सङ्ख्या रहेको हेटौँडाको मतगणनाको क्रममा लामाले पहिलो र दोस्रो स्थान हासिल गर्दै पौडेललाई पछाडि पारिरहेकी थिइन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिचको गठबन्धनबाट नेपाली काँग्रेसका राजेश बानियाँ उपमेयर बनेका छन् ।

२०७४ को निर्वाचनबाट हेटौँडा–५ को वडा अध्यक्ष बनेका बानियाँ नेकपा एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६ सय ८७ मतान्तरले पराजित गर्दै उपमेयर निर्वाचित भएका हुन् । उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३, पौडेलले २३ हजार ९ सय ६ र तेस्रो स्थानमा रहेकी राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८४ मत ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस