नेपालगन्ज उपमहानगरको प्रमुखमा काँग्रेस, उपप्रमुखमा जसपा विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालगन्ज उपमहानगरको प्रमुखमा काँग्रेस, उपप्रमुखमा जसपा विजयी


६ जेष्ठ २०७९, शुक्रबार


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा काँग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनी २३ हजार ४६० मत ल्याएर निर्वाचित भएका छन् । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाएका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी भए । उनले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भएका छन् ।

ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो ।

उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो । २३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, काँग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ ।

बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुई गाउँपालिकामा काँग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस