डोटीमा मतगणना सकियो : सात पालिकामा काँग्रेस र एक/एक पालिकामा एमाले तथा माओवादी विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा मतगणना सकियो : सात पालिकामा काँग्रेस र एक/एक पालिकामा एमाले तथा माओवादी विजयी


४ जेष्ठ २०७९, बुधबार


डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली काँग्रेस पहिलो बनेको छ ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये नेपाली काँग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।

पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस तीन पालिकामै सीमित रहेको थियो ।

यस पटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली काँग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् ।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली काँग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो ।

यसै गरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा विजयी भएका राजेन्द्र खड्का यस पटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए ।

नेपाली काँग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख दिपायल सिलगढी नगरपालिका– प्रमुख : बाजिसिं खड्का ‘विजय’, उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख: दीर्घ बहादुर बलायर, उपप्रमुख: सुनिता रावल, पूर्वी चौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका– अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी विष्ट, आदर्श गाउँपालिका– अध्यक्ष: गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष: धर्मराज जोशी, उपाध्यक्ष : निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका– अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेका छन् ।

यसै गरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष : दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन्, भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष: कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली काँग्रेस) बाट विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस