काठमाडौँ । नेपाल र भारतबिच शनिवार चार वटा समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौता पत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।
समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए।
शनिवार नेपाल र भारतबिच भएका चार वटा समझदारी तथा सम्झौता पत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेम वर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदानसम्बन्धी सम्झौता रहेका छन्।