संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीविरुद्धको मुद्दामा जारी भएन अन्तरिम आदेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीविरुद्धको मुद्दामा जारी भएन अन्तरिम आदेश


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । विभिन्न संवैधानिक आयोगहरूमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति प्रक्रिया संविधान विपरीत भन्दै परेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

संवैधानिक इजलासले बुधवार (आज) सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अन्तरिम आदेश भने नहुने उल्लेख गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर संवैधानिक आयोगहरूमा नियुक्ति सिफारिस गरेका थिए । त्यस लगत्तै संसद् विघटन गरिएको थियो ।

संसद् विघटन भएको अवस्थामा संसदीय सुनुवाइ बिना नै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगमा सिफारिस भएकाहरूलाई नियुक्त गरेकी थिइन् ।

विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएका ५२ पदाधिकारीको नियुक्ति खारेजी गर्नुपर्ने माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, समृत खरेललगायतले रिट दायर गरेका थिए ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस