भूपेन्द्र बडूवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना अदालतको आदेशपछि फेरि पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भूपेन्द्र बडूवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना अदालतको आदेशपछि फेरि पक्राउ


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडूवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् ।

जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेमा बर्दियाको ठाकुर बाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय विकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर रहेको जानकारी दिए ।

जोशीले गत फागुन ५ गते उच्च अदालतको तत्काल धरौटी तारेखमा छुटेका तिनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएअनुसार उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुलाई जिल्ला अदालतमा पेस गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना गत मङ्सिर २४ गते जिल्ला अदालत कैलालीको आदेशपछि धरौटी बुझाएर तारेखमा छुटेका थिए भने अन्य ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

लम्कीचुुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडूवालको गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । कैलाली प्रहरीले बडूवालको हत्यामा संलग्न भएको आरोपमा २१ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

उनीहरूमध्ये ९ जना तत्काल र एक जनापछि पक्राउ परेर कारागार चलान भइसकेका छन् । थप तीन जनासमेत गरेर कारागार चलान हुने अभियुक्तको सङ्ख्या १३ पुगेको छ भने अन्य ८ जना अझै फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस