उपत्यकामा मापसे चेकिङसहित सुरक्षामा कडाइ, होलीका नाममा जथाभाबी गरे पक्राउ गर्न आदेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा मापसे चेकिङसहित सुरक्षामा कडाइ, होलीका नाममा जथाभाबी गरे पक्राउ गर्न आदेश


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । फागु पूर्णिमालाई ध्यानमा राखी हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार प्रहरी परिचालित गरिँदै छ।
काठमाडौँ, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ७ सय र भक्तपुरमा ४ सय प्रहरी परिचालित हुनेछन् । त्योबाहेक आवश्यकताको आधारमा थप प्रहरी परिचालन गर्ने तयारी पनि भएको छ ।

होलीमा उपत्यकामा महानगरीय अपराध महाशाखाबाट सयभन्दा बढी सादा पोसाकमा खटाइने भएको छ।

त्यसै गरी प्रहरीले सार्वजनिक गरेको होलीलक्षित सुरक्षा योजनाअन्तर्गत ४५ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रुम भेहिकल (सीआरभी) र करिब ८० वटा मोटरसाइकल गस्ती गरिने बताइएको छ।

प्रहरी टोलीसँगै मापसे चेकिङका लागि मुख्य सडकमा ट्राफिक परिचालित हुनेछन्।

यसैबिच, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले प्रेस विज्ञप्ति जारी गरी सुरक्षा सावधानी अपनाएर शान्तिपूर्वक होली खोल्न आग्रह गरेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले करिब २ दर्जन स्थानमा मात्रै होली खेल्न आग्रह गरेको छ ।

होलीका नाममा जथाभाबी गरे पक्राउ गर्न आदेश

जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैर कानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्न आदेश दिएको छ ।

कार्यालयले कसैको इच्छा विपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे तत्काल पक्राउ गरी कारबाही गर्ने भनेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गरेर कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गर्दै यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताइन् ।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरुपमा मनाउन आह्वान गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस