राष्ट्र बैङ्कको निर्देशन नमान्ने १४ वटा वाणिज्य बैङ्क कारबाहीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्र बैङ्कको निर्देशन नमान्ने १४ वटा वाणिज्य बैङ्क कारबाहीमा


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासीकसम्ममा १४ वटा वाणिज्य बैङ्कहरूलाई कारबाही गरेको छ ।

निर्देशन नमानेको भन्दै ती बैङ्कलाई कानुन बमोजिम कारबाही गरिएको राष्ट्र बैङ्क सुपरिवेक्षण विभागले जनाएको छ ।

तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको, केही कम्पनीहरुको खाता रोक्का राख्न दिएको निर्देशन पालना नभएको, मुद्दती निक्षेप र साधारण निक्षेपको ब्याज अन्तर ५ प्रतिशतभन्दा बढी राखेको, निर्देशन अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको लगायत विषयमा ती बैङ्कहरूलाई कारबाही गरिएको छ ।

कोभिडका कारण भन्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासीकमा कुनै पनि बैङ्कलाई कारबाही नगरेको राष्ट्र बैङ्कले दोस्रो त्रैमासीकबाट मात्र कारबाही सुरु गरेको हो ।

जसअनुसार अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै प्रभु बैङ्कलाई १ लाख ८० हजार ४ सय ३० रुपैयाँ जरिवाना गरिएको छ ।

हाल बोलकबोलका आधारमा सङ्कलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था छ ।

उक्त व्यवस्था विपरीत तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको भन्दै नेपाल बैङ्कलाई राष्ट्र बैङ्कले कारबाही गरेको छ ।

एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना नगरेको विषयमा पनि नेपाल बैङ्क कारबाहीमा परेको छ । यी दुवै विषयमा राष्ट्र बैङ्कले नगद जरिवाना नगरी प्रारम्भिक कारबाही स्वरुप बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको बताएको छ ।

नियम विपरीत तीन महिना अघि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको भन्दै राष्ट्र बैङ्कले राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क, हिमालयन बैङ्क, नेपाल एसबिआई, नेपाल बङ्गलादेश, एनसीसी, सिटिजन्स, सनराइज, मेगा र सेन्चुरी बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

मुद्दती निक्षेप र साधारण निक्षेपमा प्रदान गर्ने अधिकतम र न्यूनतम ब्याज अन्तर ५ प्रतिशतभन्दा बढी गर्न नपाइने प्रावधान विपरीत काम गरेको भन्दै राष्ट्र बैङ्कले स्टान्डर्ड चार्टर्ड र एनएमबी बैङ्कलाई कारबाही गरेको छ ।

यी बैङ्कको हकमा पनि दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस