मेयर शाक्यद्वारा माइतीघरको आकाशे पुल उद्घाटन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेयर शाक्यद्वारा माइतीघरको आकाशे पुल उद्घाटन


२ चैत्र २०७८, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन् ।

आज (बुधबार) मेयर शाक्यले काठमाडौं महानगरपालिका माइतीघरस्थित आकाशे पुलको उद्घाटन गरेका हुन् ।

उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए ।

मेयर शाक्यले भने, ‘आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष हामीले ८/९ करोड बजेट विनियोजन गरेका छौँ । त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ । धेरै ठाउँमा नीति बनायौँ तर कार्यान्वयनमा अलि समस्या पनि छ । बाटो अवरोध हुने भएकोले आवश्यक ठाउँमा बनाउने भनेर तयार गर्दा पनि बनाउन नसकेको स्थान पनि छन् । र जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार यो ठाउँ पनि छनोट गर्‍यौँ । सर्वोच्च अदालतमा आउनेहरुको माग धेरै थियो सडक क्रस गर्न धेरै गाह्रो भयो भनेर त्यसैले पनि हामीले यहाँ आकाशे पुलको निर्माण गरेका हौँ ।’

उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए ।

मेयर शाक्यले भने, ‘अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, माग सब सम्बोधन गर्न नसकिरहेको अवस्था पनि छ । नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ ।’

मेयर शाक्यले माइतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने विश्वास पनि व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस