गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौँ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गठबन्धनलाई ओलीको चुनौती– भागेर कहाँ जान्छौ ? जनताको अभिमतबाट स्वीपआउट गर्छौँ


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरूले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए ।

अध्यक्ष ओलीले अहिलेको सरकार पाँच जना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दाबी समेत गरे । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए ।

ओलीले भने,’यिनीहरू चुनावबाट भाग्न खोज्दै छन्, भागेर कहाँ जान्छौ ? चुनाव त गराउनै पर्छ । त्यही बेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौ । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो, यो भेल अगाडि आउँदै छ, निर्वाचनको माध्यमबाट ।’

अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको उनले बताए ।

उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दाबी गरे । ओलीले मुद्दा लडेर ल्याएको संसद्ले भत्ता खानेबाहेक केही काम गर्न नसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस