बलात्कार आरोप लागेका सिद्धबाबाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बलात्कार आरोप लागेका सिद्धबाबाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले (आज) बुधबार सुनुवाइ गर्ने भएको छ ।

अदालतले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । उच्च अदालतमा २०७७ साल चैत २६ गते सिद्धबाबा विरुद्ध मुद्दा परेको थियो ।

सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् ।

गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ । सम्भवतः बुधबार नै फैसला आउन सक्ने उच्च अदालत स्रोतको भनाइ छ ।

सोलुखुम्बु घर भई सुनसरीको वराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने गिरी आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्दथे । उनै धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मङ्सिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई अनुचित प्रभावमा पारी मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप छ ।

त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो भने २०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीले फैसला सुनाएको थियो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले ०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौन सम्बन्ध राखेको उल्लेख छ । जिल्ला अदालतको फैसलाले करणी पुष्टि गरेको छ । तर, धर्मगुरुको शरणमा परेको अवस्थामा आफूलाई अनुचित प्रभावमा पारेर करणी गरिएको हुनाले बलात्कारको आरोपमा सिद्धबाबालाई कानुनी कारबाही हुनुपर्ने महिलाको माग दाबी छ । सुनसरी वराहक्षेत्र नगरपालिका–१ चतरा हनुमान मन्दिरस्थित जगत गुरु आश्रममा बस्ने सिद्धबाबा धर्मगुरु हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस