क्यासिनोले बुझाए ८७ करोड रोयल्टी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्यासिनोले बुझाए ८७ करोड रोयल्टी


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आजसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटेल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए ।

मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ वटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने सेन्टर मिडिया प्राली मिनिक्यासिनोले रु छ करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा कम्तीमा पनि रु ८७ करोड रकम जम्मा भएको हो । अझै उक्त प्रालिले दुई करोड ७० लाख ५० हजार बुझाउन बाँकी रहेको पर्यटन विभागका होटेल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता जम्मा रकम कम्तीमा पनि रु ७५ करोड मात्रै रहेको छ । यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस