मान्म । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन कालिकोटका राजनीतिक दल सक्रिय भएका छन् ।
जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ ।
जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् ।
राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।
भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेता गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो । आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाङ्क्षीले दल भित्रसमेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।
जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा पालिकामा माओवादी केन्द्र, एक पालिकामा नेपाली काँग्रेस र एक पालिकामा नेकपा एमाले र दुई पालिकामा एकीकृत समाजवादी विजयी भएका थिए ।
काँग्रेस विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमाले आफ्नो साख जोगाउने लक्षमा छ । नेकपा (माओवादी केन्द्र) पहिलो शक्तिका रूपमा स्थापित हुने प्रयत्नमा देखिन्छ ।
स्थानीय तह र वडा स्तरमा रहेका पार्टीका समितिको बैठक डाकेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको काँग्रेसको जिल्ला कार्य समितिको बैठकले थप निर्वाचन लक्षित योजना पनि बनाएको पार्टीका जिल्ला सभापति अम्बबहादुर शाहीले बताए ।
‘सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौँ, पार्टी सङ्गठनसँगै विभिन्न भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरू चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्’, उनले भने, ‘पालिका कार्यसमितिले निर्णय गरेर टोल अभियान सञ्चालन गरिरहेका छन् ।’
पालिका कमिटीको बैठकमार्फत वडा कमिटी हुँदै टोल र टोल कमिटी गठन गर्ने र जन वर्गीय सङ्गठनको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए ।
‘स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीलाई चुनावमा केन्द्रित हुन भनेका छौँ’, उनले भने, ‘सबै पालिका र वडा कमिटी क्रियाशील छन्, यस पटक माओवादीको सुदृढ सङ्गठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ ।’
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले समेत आफ्नो सङ्गठनलाई जिल्लाको सबै पालिका स्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ ।
पार्टी सङ्गठन निर्माणसँगै जन वर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमले बताए ।
जिल्लामा एमाले, काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) एक्ला एक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएका छन् ।