काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताएका छन् ।
आज बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उहाँले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीय स्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताए ।
“आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौँ, रोजगारी सिर्जना गर्छौँ । कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ”, उनले भने।
प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरेर पूर्वाधार निर्माण भए पनि त्यसको उपभोग गर्ने जनसङ्ख्या कम भएकाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेपछि पर्यटकको सङ्ख्या बढेको बताउँदै उहाँले पर्यटनमार्फत गण्डकीलाई समृद्ध बनाउन सकिने भएकाले पोखरा आउने पर्यटकलाई सबै जिल्लामा पुर्याउनका लागि आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डेले जनताको घरदैलोमा आवश्यकताअनुसार न्यायको पहुँच पुर्याउन स्थानीय र प्रदेश सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गरे । उनले स्थानीय तहका न्यायिक समितिलाई न्यायसम्पादनमा सघाउ पुर्याउन प्रदेश सरकारले सबै पालिकामा न्यायिक सहजकर्ताको व्यवस्थापन गरेकाले न्याय सम्पादन गर्दा कसैले प्रश्न नउठाउने गरी काम गर्न आग्रह गरे ।







