उपत्यकामा जथाभाबी पार्किङ गर्ने विरुद्ध कारबाही अभियान सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकामा जथाभाबी पार्किङ गर्ने विरुद्ध कारबाही अभियान सुरु


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ ।

ललितपुरको पाटन क्षेत्रबाट जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेसन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्बाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ ।

महाशाखाले अभियानको पहिलो दिन बुधवार ललितपुरबाट ३७ सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ । यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेसनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ ।

कोरिडोर सडकमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोस्टसमेत स्थापना गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस