जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण : अध्यक्ष तिमिल्सिना


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

काठमाडौँमा मङ्गलवार ‘आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना, सङ्घीय संसद्को संयोजन र विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ को सङ्क्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने बताए। उनले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिड विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे ।

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लागेका तथा दुई वर्ष कार्यकाल बाँकी रहेका सांसदहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड–१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिका बारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको बताए ।

‘हामी यहाँ फागुन २० गते कार्यकाल पूरा भएर बिदाइ हुने र दुई वर्षपछि बिदा भएर जाने राष्ट्रिय सभा सदस्यहरू सहभागी छौँ,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउन लागौँ।’

सो अवसरमा उनले कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको बताए ।

‘नेपालमा महामारीले निकै सङ्कटको अवस्था सिर्जना गर्‍यो, लाखौँको सङ्ख्यामा सङ्क्रमित भयौँ र हजारौँको ज्यान गयो,’ उनले भने, ‘महामारीले ल्याएको सङ्कटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ। यो सकारात्मक पक्ष हो।’

कार्यक्रममा उनले गत वर्ष सात वटा प्रदेशमा कोभिड जोखिम सञ्चारसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएपछि सकारात्मक प्रतिक्रिया आएकाले यो वर्ष राष्ट्रिय सभाका सदस्यज्यूहरूको सहभागितामा यो कार्यक्रम आयोजना भएको बताए ।

उनले यस्तै कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेश सभा सदस्यहरूको उपस्थितिमा क्रमशः आयोजना हुने जानकारी गराए । आर्थिक र प्राविधिक सहयोग गरी यस्तो महत्वपूर्णकार्यक्रम आयोजना गरेकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विशेष गरी विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयलाई धन्यवादसमेत दिए ।

त्यसै गरी विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा। संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालीन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकता बारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गरे ।

सो क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदाहरणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गरे ।

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय सभा सदस्यहरू, सङ्घीय संसदका महासचिव डा. भरतराज गौतम, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. पाण्डव, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल, स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेल लगायतको उपस्थिति रहेको छ।

कार्यक्रमको उद्घाटन सत्र पश्चात् कोभिड–१९ रोकथाम र खोपसम्बन्धी जोखिम सञ्चार र सामुदायिक सहभागितासम्बन्धी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका विभिन्न स्वास्थ्य विशेषज्ञको प्रस्तुति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस