एमसीसी बारे अमेरिकी दूतावासले भन्यो– हिंसा भड्काउने विचार स्वीकार्य छैन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमसीसी बारे अमेरिकी दूतावासले भन्यो– हिंसा भड्काउने विचार स्वीकार्य छैन


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ। नेपालस्थित अमेरिकी दूतावासले एमसीसी परियोजनामा भएका स्वस्थ बहस मात्र स्वीकार्य हुने बताएको छ । दूतावासले शुक्रवार आफ्नो आधिकारिक ट्वीटर ह्यान्डल र फेसबुकमा सो कुरा उल्लेख गरेको हो ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौँ, एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो,’ दूतावासले लेखेको छ, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तर्निहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

नेपालमा एमसीसी परियोजनाको पक्ष/विपक्षमा बहसहरू भइरहँदा दूतावासले यस्तो धारणा सार्वजनिक गरेको हो । सरकारले फागुन ४ गतेको संसद् बैठकमा एमसीसी अनुमोदन गराउने प्रयास गरे पनि सत्ता गठबन्धनमा आबद्ध दलहरूबिच कुरा नमिल्दा परियोजना टेबल हुन सकेन । त्यसपछि शुक्रबारको संसद् बैठकमा पनि परियोजना टेबल गराउने तयारी गरेको थियो तर दोस्रो पटक पनि हुन सकेन ।

एमसीसी परियोजना टेबल गराउने विषयमा सत्ता गठबन्धन भित्र नै एक मत छैन । काँग्रेस परियोजना अनुमोदन गराउने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा(एस) विपक्षमा छ । जसपामा बाबुराम भट्टराई पक्ष परियोजना पक्षमा छन् भने उपेन्द्र समूह विपक्षमा देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस