काठमाडौँ । निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ।
आज (बुधबार) दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले परामर्श लिन सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको पौडेलले बताएका छन्। उनका अनुसार यो सामान्य छलफल मात्रै हो ।
‘सम्भावना के छ भनेर सामान्य छलफल गर्न लागेको हो। निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागि हालेको भन्ने होइन,’ प्रवक्ता पौडेलले भने, ‘नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेको हो।’
त्यस्तै, ठुलो क्षेत्रमा नभए सानो क्षेत्रमा मात्रै भए पनि गर्न सक्ने सम्भावना के(कति छ भन्ने बुझ्न खोजिएको उनले बताए।
‘ठुलो क्षेत्रमा नभए सानोमा, एउटा कुनै जिल्ला वा सहरमा गर्न सकिन्छ कि भनेर सामान्य सुरूआती छलफल मात्रै हो,’ उनले भने, ‘यसका आधारमा भोलि कार्यदल गठन गरेर केही रिपोर्ट देला।’
बैठकमा यसका चुनौतीका विषयमा पनि छलफल हुने प्रवक्ता पौडेलले बताए।
सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ।