राष्ट्र बैङ्कद्वारा ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कद्वारा ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण माग


२० माघ २०७८, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ ।

राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागले बैङ्कहरूलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।

अब बैङ्कहरूले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ? लगायत सबै विवरण राष्ट्र बैङ्कमा पठाउनुपर्ने भएको छ । माघ २४ गतेसम्म उक्त विवरण पठाई सक्न राष्ट्र बैङ्कले बैङ्कहरूलाई भनेको छ ।

हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक शङ्कास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैङ्क तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ । तर, अहिले ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण राष्ट्र बैङ्कले बैङ्कहरूसँग मागेको छ ।

सुपरिवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे गैर स्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैङ्कको पत्रमा उल्लेख छ ।

खासगरी पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैर कानुनी डिजिटल कारोबारमा बैङ्कहरूको निक्षेप उपयोग भएको आशङ्कामा राष्ट्र बैङ्कले नगद कारोबारको विवरण मागेको स्रोतले बताएको छ ।

‘हरेक दिन बैङ्कहरूबाट ठुलो परिमाणमा निक्षेप बाहिरिएको देखिन्छ । तर, त्यो कहाँ गयो भन्ने स्रोत भेटिँदैन,’ स्रोतले भन्यो, ‘त्यस्ता शङ्कास्पद गतिविधि रोक्न पनि उक्त विवरण माग गरिएको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस