पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन


१७ माघ २०७८, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् ।

उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।

उनले भने, ‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ, यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु, अतिक्रमण गर्न पाइँदैन ।’

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बबताए ।

उनले भने, ‘पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो, यस्ता विकृति अन्त्य हुन्छ ।’ पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि पहल भइरहेको समेत मन्त्री आलेले अनुगमनका क्रममा जानकारी दिए ।

क्रियापुत्री बस्ने ठाउँमा तातो, चिसो पानीको व्यवस्थापन हुने मन्त्री आलेले दाबी गरे । यसैगरी मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिए ।

पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोरहरू व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत मन्त्री आलेले कोषका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस