भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु


११ माघ २०७८, मंगलबार


राँझा । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही माघ ८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा अत्यावश्यक बाहेकका सेवा बन्द

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ ।

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा सङ्क्रमण पुष्टि भएको छ ।

पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाइ भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।

जिप्रकाबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घ संस्था दर्ता–नवीकरण हातहतियार नवीकरणलगायतका सेवा हाललाई स्थगित गरिएको प्रजिअ खत्रीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस