कर्मचारीलाई तालिम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीलाई तालिम


५ माघ २०७८, बुधबार


कर्मचारीमा विज्ञान, ज्ञान,सीप, क्षमता र दक्षतामा अभिवृद्धि गरी धारणात्मक एवं व्यावहारिक परिवर्तन ल्याउने औजारलाई तालिम भनिन्छ। तालिमले कर्मचारीमा विद्यमान कमीकमजोरीमा सुधार ल्याउँदै तालिमका अभावका कारण हुनसक्ने कार्यसम्पादन विचलनलाई सुधार ल्याउनमा ठोस योगदान पुर्‍याउँछ। कुनै पनि सङ्गठनका सम्पत्तिका रूपमा रहने मानव संसाधनलाई सधैँ धारिलो बनाउन तालिमले महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । तालिमको अभावमा कर्मचारी भुत्ते बन्न गई सङ्गठनको समग्र उत्पादकत्वमा प्रतिकुल असर पार्दछ।

नेपालको निजामती सङ्गठन, सार्वजनिक संस्थान र अन्य सार्वजनिक निकायमा कार्यरत जनशक्तिका लागि तालिमका अवसर अत्यन्त न्यून रहेका छन् । तालिममा अत्यन्त न्यून बजेट विनियोजन हुने र उक्त बजेटलाई पनि खर्चका रूपमा मात्र लिने गरिन्छ।उक्त विनियोजित बजेटलाई जनशक्ति विकासमा गरेको लगानीका रूपमा नलिने सोच व्याप्त रहेको छ।

तालिमको महत्वः
जनशक्ति विकासको एक महत्त्वपूर्ण अस्त्रको रूपमा रहने तालिमका निम्नानुसारका महत्त्व रहने गर्दछन्:
१.कर्मचारीको ज्ञान, सीप, दक्षता र सोचाइमा सकारात्मक प्रभाव पारी समग्र सङ्गठनको कार्यसम्पादनमा सुधार ल्याउन सहयोग पुर्‍याउँछ।कर्मचारीलाई काम प्रति उत्प्रेरित गराउने महत्त्वपूर्ण साधन समेत तालिम हो।
२.तालिमको अभावका कारण हुनसक्ने जोखिम त्रुटिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ।
३.तालिमले कर्मचारीलाई थप जिम्मेवारी वहन गर्न सक्षम बनाउँछ।साथै कर्मचारीको प्रतिस्पर्धात्मक क्षमताको समेत अभिवृद्धि गर्दछ।
४.परिवर्तित समयअनुसारका ज्ञान, सीप, क्षमता कर्मचारीमा विकास हुन गई परिवर्तनलाई आत्मसाथ गर्न सक्ने क्षमता कर्मचारीमा अभिवृद्धि हुन जान्छ।
५.तालिमका कारण कर्मचारीमानँया ज्ञान ,सीप, क्षमता वृद्धि हुने हुँदा कर्मचारीको मान ,सम्मान र महत्त्व बढेर जान्छ।
६.तालिमको अभावका कारण हुनसक्ने कार्यसम्पादन विचलनलाई तालिमले सुधार गर्न सहयोग पुर्‍याउँछ।
७.कर्मचारीको बढुवामा तालिम बापतको अङ्क प्रदान गरिने हुनाले बढुवाका लागि तालिमले सहयोग पुर्‍याउँछ।

माथि उल्लेखित महत्त्व हुँदाहुँदै पनि नेपालका सार्वजनिक निकायमा तालिम प्राथमिकताको विषयमा परेको छैन। तालिमका अभावका कारण जनशक्ति भुत्ते हुँदै गइरहेको छ। यसै सन्दर्भमा नेपालको सार्वजनिक निकायमा तालिममा रहेका समस्याहरू निम्नानुसार रहेका छन्:
१.सार्वजनिक निकायले सञ्चालन गर्ने तालिमहरू आवश्यकतामा आधारित हुन नसकेको
२.तालिमका अवसर अत्यन्तै न्यून रहेको र निलयकर्ताका नजिक रहनेलेमात्र तालिमका अवसर पाउने गरेको
३.तालिमका लागि अत्यन्तै न्यून बजेट विनियोजन गरिने जसले गर्दा यथेष्ट मात्रामा तालिम सञ्चालन गर्न नसकिने अवस्था रहेको
४.तालिम पाठ्यक्रम व्यावहारिक भन्दा बढी सैद्धान्तिक प्रकृतिको रहेको
५.तालिम केवल बढुवाका लागि अङ्क प्राप्त गर्नका लागि मात्र प्रयोग हुने गरेको तालिम पश्चात् प्रभाव मूल्याङ्कनको कुनै परिपाटि नभएको साथै कर्मचारीले तालिमलाई कर्मचारी साथीभाइ भेटघाट र कामबाट उन्मुक्ति पाउने माध्यमका रूपमा लिने गरेको
६.विकट क्षेत्रमा काम गर्ने कर्मचारीले तालिमका अवसरको जानकारी समेत नपाउने गरेको
७.दाताले सञ्चालन गर्ने तालिम कार्यालयको आवश्यकतामा भन्दा पनि दाताको स्वार्थबाट प्रेरित भएको
७.तालिम दिने संस्थाको संस्थागत क्षमता विकास गर्नमा ध्यान नदिइएको र योग्य तथा दक्ष प्रशिक्षक टिकाइराख्न चुनौतिपुण रहेको
८.कार्य केन्द्रित समस्यामूलक भन्दा पनि सबैलाई मिल्ने किसिमको पाठ्यक्रम बनाइ तालिम दिने प्रचलन छ।
९.कर्मचारीमा पनि तालिमबाट केही नयाँ सिक्ने कार्यसम्पादनमा सुधार गर्ने भन्दा पनि भत्ता लिने समय कटाउने प्रवृत्ति हाबी रहेको छ।

माथि उल्लेखित समस्या नेपालको तालिम प्रणालीमा रहेका केही समस्याहरू हुन् ।ती समस्या समाधान गर्न निम्नानुसार उपायहरू अवलम्बन गर्न सकिन्छ।
१.तालिमको आवश्यकता पहिचान गरी उपयुक्त कर्मचारीलाई उपयुक्त तालिमका लागि मनोनयन गर्ने परिपाटिको विकास गर्नुपर्दछ।
२.तालिमका अवसर सबैलाई न्यायोचित तवरले वितरण गरिनुपर्दछ।
३.तालिममा विनियोजन गरिने बजेटलाई खर्चको रूपमा लिने सोचलाई त्यागी जनशक्तिको क्षमता विकासमा गरिएको लगानीको रूपमा लिनुपर्दछ।
४.तालिमका लक्ष्य तथा उद्देश्य निर्धारण गरी तालिम पश्चात् ती उद्देश्य पुरा भए नभएको सम्बन्धमा तालिमको प्रभाव मूल्याङ्कन गरिनुपर्दछ।
५.तालिमको पाठ्यक्रम विधिमा समायानुकुल परिवर्तन गर्दै सैद्धान्तिक र व्यावहारिक पक्षको उचित सम्मिश्रण गरिनुपर्दछ।साथै प्रशिक्षकको क्षमता विकास र तालिम प्रदायक संस्थालाई स्रोत साधन सम्पन्न बनाउनुपर्दछ।
६.तालिम सबैलाई मिल्ने एकै खाले भन्दा पनि विशिष्ट कृत बनाइनुपर्दछ।
७.तालिमका लागि पर्याप्त बजेट छुटाउने
८.दाता सञ्चालित तालिमलाई संस्थाको आवश्यकतामा आधारित बनाउन पहल गर्ने

माथि उल्लेखित उपायहरूको अवलम्बन गर्न सकेमा नेपालको सार्वजनिक निकायमा रहेका तालिम सम्बन्धी समस्याको निराकरण हुन गई तालिमले दिने लाभ थप प्रभावकारी हुन जान्छ जुन आजको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस