मधेस प्रदेश कायम भएसँगै मधेसी जनताको ठुलो सपना पूरा भएको छ: मुख्यमन्त्री राउत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मधेस प्रदेश कायम भएसँगै मधेसी जनताको ठुलो सपना पूरा भएको छ: मुख्यमन्त्री राउत


४ माघ २०७८, मंगलबार


जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेस कायम भएसँगै मधेसी जनताको एउटा ठुलो सपना पूरा भएको बताएका छन् ।

प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याएपछि संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेसी जनताको ठुलो सपना पूरा भएको बताएका हुन् ।

‘मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ’, मुख्यमन्त्री राउतले भने, ‘मधेस आन्दोलनको भावना र मधेसी जनताको चाहनाअनुरूप मधेस प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो ।’

यसबाट शहीदहरूको सम्मान भएको उनको भनाइ थियो ।

मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै उनले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

मधेस प्रदेश स्थापनाका लागि सहयोग पुर्‍याउने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई धन्यवाद ज्ञापन दिँदै मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेश बासी, देशवासीमा बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रदेश सरकार गठन भएको चार वर्षपछि आज नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस