मलाई दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब छ : श्रममन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलाई दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब छ : श्रममन्त्री श्रेष्ठ


३ माघ २०७८, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।

इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएका सँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको बताएका हुन् ।

उनले इपिएस प्रणाली पास गरेर बसेकालाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई बेवास्ता गरिरहेको बताए ।

मन्त्री श्रेष्ठले इपिएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ताभित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे । उनले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भइरहेको पनि बताए।

यता, पीडितहरूले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठसँग माग गरेका थिए । लुम्बिनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरूलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरे ।

उनले कामदार छनोटमा पनि महिलामाथि विभेद हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड सङ्क्रमण हुन नदिने गरी विदेश जानेलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।

उनले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुने तर्क गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस