तनहुँ जीप दुर्घटना : दुई जना घाइते उपचारपछि घर फर्किए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तनहुँ जीप दुर्घटना : दुई जना घाइते उपचारपछि घर फर्किए


२ माघ २०७८, आइतबार


दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् ।

साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचारपश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापाको उपचार भइरहेको छ ।

दुर्घटनामा बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस