प्रधानमन्त्री देउवासहित शीर्ष नेता परे कन्ट्याक्ट ट्रेसिङमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री देउवासहित शीर्ष नेता परे कन्ट्याक्ट ट्रेसिङमा


२४ पुस २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रण्डललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा दाहाललाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । दाहाल शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न थिए ।

माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि बैठकमा सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए । दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

कांग्रेस उपसभापति खड्का भने माओवादी अध्यक्ष दाहाललाई कोरोना संक्रमण पुष्टि भइसकेपछि आफू आइसोलेसनमा बसेको जानकारी दिएका छन् । दाहालको सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस