कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा आज(शुक्रबार) बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता भएकाले जीवन रक्षा गर्नका लागि आवश्यक हरेक तयारीमा रहनुपर्ने बताए ।

छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले त्यसबारे छलफल गर्न बसेको बैठकले खोप लगाउने अभियानलाई तिब्रता दिने, माघ दोस्रो साताबाट खोपको बुष्टर डोज क्रमशः ज्येष्ठ नागरिक र क्वारेन्टाइन हुँदै सबैका लागि अभियान सञ्चालन गर्ने, भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ गर्ने, आइसोलेसन र होल्डिङ सेण्टरहरू व्यवस्थित गर्ने लगायत निर्णयहरू गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बैठकले देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्थापन चुस्तदुरुस्त राख्ने लगायत निर्णयहरू गरेको मन्त्री खतिवडाले जानकारी दिए । बैठकले ओमिक्रोन भेरियन्टका कारण हुनसक्ने अत्याधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत सामाग्रीहरूको जोहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापति लगायत सीसीएमसीका अधिकारीहरू सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस