भारतमा कोरोना सङ्क्रमण बढेसँगै सुदूरपश्चिममा घर फर्कने नेपालीको सङ्ख्या बढ्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतमा कोरोना सङ्क्रमण बढेसँगै सुदूरपश्चिममा घर फर्कने नेपालीको सङ्ख्या बढ्यो


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको सङ्क्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको सङ्ख्या बढेको छ ।

कैलाली सँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोस्टका अनुसार पछिल्लो एक साता दैनिक रुपमा भारतबाट फर्कने नेपालीको सङ्ख्या बढेको हो । पुस लागेसँगै गौरीफन्टा नाका भएर सात हजार भन्दै बढी भित्रिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा मनाइने माघी पर्वलाई लक्षित गरी घर फर्कनेहरुको सङ्ख्या दैनिक बढ्दै गएको छ । यसअघि दैनिक २५० को हाराहारीमा नेपाली फर्कने गरे पनि एक साता यता दैनिक ६ सयसम्म फर्कने गरेका छन् ।

पछिल्ला तीन दिनयता गौरीफन्टामा रहेको हेल्थ डेस्कमा ६० जनामा कोरोना एन्टिजेन्ट पोजेटिभ पुष्टि भएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका अनुसार यो सङ्ख्या दैनिक बढ्दै गएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै चेकजाँचमा पनि कडाइ गरिएको प्रशासनले जनाएको छ । तर स्वदेश फर्कनेहरुले भने भारतमा जस्तो नेपालतर्फ स्वास्थ्य चेकजाँचमा कडाइ नभएको बताएका छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा फेरि कोरोनाको सङ्क्रमण बढ्न थालेको छ । भारतमा रोजगारीमा रहेकाहरु फर्कने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस