मणिपाल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मणिपाल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । मणिपाल मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले उठाएको अतिरिक्त शुल्क फिर्ता गर्न भएको छ ।

अनेरास्ववियु, राष्ट्रिय चिकित्सा विद्यार्थी संघ, गण्डकी च्याप्टर र मणिपालबीच शुल्क फिर्ता गर्नेबारे बुधबार ५ बुँदे सहमति भएको हो । जिल्ला प्रशासन कार्यालयको रोहबरमा भएको सहमतिमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्न मणिपालले प्रतिबद्धता जनाएको छ ।

सहमतिपत्रमा अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, राष्ट्रिय चिकित्सा विद्यार्थी संघका गण्डकी च्याप्टर उपाध्यक्ष अनित सिन्हा, मणिपालका प्रशासन प्रमुख भानु भारद्वाज र एड्मिसन डाइरेक्टर गौरव यादवले हस्ताक्षर गरेका छन् ।

विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न मणिपाल प्रशासन तयार भएको छ ।

सहमतिसँगै अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले कलेज प्रशासनमा लगाएको ताला बुधबारदेखि खोलेको छ । मंसिर २० देखि अनेरास्ववियु र चिकित्सा विद्यार्थी संघ आन्दोलनमा थिए ।

एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र ४० लाख र बाहिर ४४ लाख शुल्क तोकिएको छ । एमबीबीएस र बीडीएसका विद्यार्थीसँग काठमाडौँ, विराटनगरको नोबेल र पोखराको मणिपाल मेडिकल कलेजले बढी शुल्क मागेका छन् । होस्टल अनिवार्य गरेर १८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क मागेको विद्यार्थीको भनाइ छ ।

यसैबीच, शिक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएको छ । पटक–पटकको निर्देशन उल्लंघन गर्दै गैरकानुनी रूपमा शुल्क असुली गरे चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार मेडिकल कलेजलाई कारबाही गरिने बताइएको छ ।

कारबाहीका लागि आयोगले अनुगमन टोली गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस