राष्ट्रियसभा निर्वाचन : कर्णालीमा यस्तो छ मतभार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा यस्तो छ मतभार


२१ पुस २०७८, बुधबार


कर्णाली । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षलाई मात्र मताधिकार छ ।

कर्णालीमा हाल स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् ।

प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुख एक बराबर १८ मतभार कायम छ । यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यको कुल मतभार एक हजार ६८० रहेको छ ।

स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षको कुल मतभार दुई हजार ८०८ रहेको छ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख–उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् ।

माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ ।

नेकपा (एमाले)का स्थानीय तहमा प्रमुख–उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । एमालेको कुल एक हजार ४३४ मत छ ।

नेपाली काँग्रेसका स्थानीय तहमा प्रमुख–उपप्रमुख ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् । काँग्रेससँग प्रमुख–उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कुल एक हजार आठ मत छ ।

एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)का स्थानीय तहमा प्रमुख–उपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् ।

उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कुल मत ३७८ रहेको छ । राप्रपाको एकजना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

कर्णालीमा ६ उमेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्य रुकुमपश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा यहाँका चार दलका ६ उमदेवारले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली काँग्रेसबाट महिला क्लष्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपांगता–अल्पसंख्यक क्लष्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य क्लष्टरमा उदय बोहरा (सल्यान)ले उमेदवारी दर्ता गराएका छन् ।
प्रतिपक्षी दल नेकपा (एमाले)बाट खसआर्य क्लष्टरमा चूडामणि शर्मा (सुर्खेत), महिलामा गंगा महत (जुम्ला) र अपांगता–अल्पसंख्यक क्लष्टरमा पदम माझी (दैलेख)ले मनोनयन दर्ता गराएका छन् ।

काँग्रेसबाट महिला क्लष्टरमा मनोनयन दर्ता गराएकी राष्ट्रियसभा सदस्यका उमेदवार वीरेन्द्रनगर–१ का गुरुङ तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मारिएका काँग्रेस कार्यकर्ता यज्ञबहादुर गुरुङकी धर्मपत्नी हुन् ।

माओवादी केन्द्रबाट अपांगता क्लष्टरबाट उमेदवारी दिएका विष्ट पहिलो संविधानसभाको सदस्य र हाल उक्त पार्टीको केन्द्रीय सदस्य हुन् । खसआर्यतर्फ उमेदवारी दिएका बोहरा सल्यानका पूर्वजिल्ला विकास समिति सभापति र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।

एमालेबाट उमेदवारी दिएका शर्मा र माझी पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने महत पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । महत जुम्लाका एमालेका तत्कालीन नेता तथा पूर्वशान्ति राज्यमन्त्री स्व। डिल्लीबहादुर महतकी धर्मपत्नी हुन् ।

सत्तासाझेदार दलमध्ये नेकपा (माओवादी केन्द्र)को प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरेर एक हजार ५१२, काँग्रेसको एक हजार आठ र नेकपा (एकीकृत समाजवादी)को ३७८ मत रहेको छ । गठबन्धनभित्रका तीनै दलको मतगणना गर्दा दुई हजार ८९८ हुन्छ ।

प्रतिपक्षी दल एमालेसँग प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरेर एक हजार ४३४ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग मात्र ४८ मत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस