महाकाली नदीलाई स्वच्छता राख्न आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महाकाली नदीलाई स्वच्छता राख्न आग्रह


१८ पुस २०७८, आइतबार


दार्चुला । महाकाली नदीको स्वच्छताका लागि जिल्लाका अगुवाले सबैपक्षसँग आग्रह गरेका छन् ।

कैलाशको शिरबाट बग्ने नदीमा फोहर बढ्न थालेपछि उनीहरुले यस सम्बन्धी अभियान नै सञ्चालन गरेका हुन् । अभियन्ता शङ्करसिह धामीले पवित्र नदीको स्वच्छता र संरक्षणका लागि सबैले योगदान गरौँ भन्दै सामूहिक भेला भएर प्रतिज्ञा गरिएको बताए ।

खासगरी सदरमुकाम क्षेत्रमा घरभित्र र बजारको ढल महाकाली नदीमा मिसाइएको छ । यसबाट नदी दूषित बनेको छ । ‘यो नदीको स्वच्छता कायम राख्नु मानव जगत्को कर्तव्य हुन जान्छ’, उनले भने, ‘नदीको पानी नै प्रयोग गर्नुपर्ने बाध्यता हुनसक्छ । यसका लागि नदीको स्वच्छता र सरसफाइमा ध्यान जानु आवश्यक छ ।’

सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वन नजिकै भएको जागरण भेलामा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । नदी दुर्गन्धित हुँदा नदीमा आश्रित जीवजन्तु पनि विस्तारै लोप हुँदै गएको अधिकारकर्मी नारायण जोशी बताए । ‘हामीले नदीको स्वच्छता अभियान सञ्चालन गर्न बेला–बेलामा सचेतना अभियान चलायौँ’, उनले भने, ‘तर सदरमुकामवासीको व्यहोरा परिवर्तन हुन सकेन । ’

महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । जागरण भेलामा सहभागी विमल बोहराले भने, बङ्गाबगडबाट किम्तडीसम्म हेर्यो भने जताततै फोहरैफोहर छ । यो हामी मानव जातिलाई सुहाउने काम होइन ।’ खासगरी बङ्गाबगडबाट पुलघाट तथा किम्तडी नजिकैको छेउमा फोहरको थुप्रो छ ।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट नमस्कार तलैसम्म नदी किनारमा फोहरमैला छ । बढ्दो सहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण बढेको छ । पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफार्म ,क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो रहेको बताइएको छ ।

‘तटबन्ध निर्माणका क्रममा हामीले केही व्यक्तिलाई तटबन्धभित्रै सेफ्टीट्याङ्की बनाउन भनेका छौँ’, महाकाली नदी नियन्त्रण आयोजनाका कर्मचारी करनसिंह धामीले भने, ‘तर अझै पूर्णरूपमा सरसफाइमा ध्यान गएको छैन । मदिराका बोतल, फोहरजन्य वस्तु जथाभावी फालिएका अहिले पनि देखिन्छन् ।’

सञ्चारकर्मी शङ्करसिंह धामीले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् ‘सनतान धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि तन, मन, बचन र कर्मले सकारात्मक योगदानको प्रण गर्दछु, यसमन लागि निस्वार्थरूपमा क्रियाशील भइरहने र यो पुण्यकार्यमा सहभागिता बढाउन सिर्जनात्मक रूपमा सक्रिय भइरहने सङ्कल्प गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस