माओवादी महाधिवेशन : राति ८ बजेदेखि उम्मेदवारी दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी महाधिवेशन : राति ८ बजेदेखि उम्मेदवारी दर्ता


१७ पुस २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवार मनोनयनको प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवार मनोनयको कार्यक्रम सकिएलगत्तै मनोनयनपछिको सूची सार्वजनिक गरिनेछ ।

आयोगका अनुसार आइतबार बिहानदेखि उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ । बिहान ८ देखि ८ः३० बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन पाइने व्यवस्था गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना आइतबार बिहान ८ः३५ मा प्रकाशित गरिनेछ । उजुरीमाथि निर्वाचन आयोगले अन्तिम निर्णय लिई ९ः१० मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

यस्तै बिहान ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० देखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि आइतबार दिउँसो ४ बजेसम्मका लागि समय तोकिएको छ । त्यसलगत्तै मतगणना सुरु हुनेछ ।

आजमात्रै माओवादीको विधान सर्वसहमतिले पारित गरेको थियो । पारित विधानअनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ । स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेको प्रश्नको जवाफ दिएपछि विधान पारित गरिएको हो । विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ । यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस