गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र फ्रान्सेली राजदूतबीच भेट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र फ्रान्सेली राजदूतबीच भेट


१६ पुस २०७८, शुक्रबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबीच हिजो (बिहीबार) भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल भएको थियो ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले फ्रान्सले नेपालका लागि गर्दै आएको खाद्य सहयोग, पेट्रोलियम पदार्थ अन्वेषण, खानेपानी वितरणलगायत परियोजनाको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले सन् १९४९ मा द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि नै दुई मुलुकबीचको सम्बन्ध झनै प्रगाढ बन्दै गएको बताए ।

नेपालबाट हाते कागजका साथै हस्तकलाका सामग्री, गार्मेन्ट ऊनका सामग्री तथा चाँदीका गरगहना निर्यात हुँदै आएको बताउँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासको आधार पर्यटन नै रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगेकाले फ्रान्सबाट थप पर्यटक नेपाल आउने विश्वास व्यक्त गरे । पर्यटन प्रवर्द्धन, जलविद्युत्लगायत क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहेकाले फ्रान्सले वातावरण हेरेर लगानी गर्न पनि उनले आग्रह गरे ।

नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओले नेपालीको बहुपक्षीय विकासका लागि सहयोग गर्न फ्रान्स तयार रहेको बताए । फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेर कीर्तिमान रचेको स्मरण गर्दै उनले गण्डकी र आसपासको क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा प्रदेशका प्रमुख सचिव रवीलाल पन्थ र प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले द्विपक्षीय हितलगायत विषयमा बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस