मोरङमा एक लाखको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोरङमा एक लाखको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन


१४ पुस २०७८, बुधबार


विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको नम्बर होस् भनेर सरकारले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागद्वारा मोरङको रतुवामाई नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तक्रिया तथा समन्वय’ कार्यक्रममा आज उनले राष्ट्रिय परिचयपत्र नागरिकका लागि धेरै महत्वपूर्ण प्रमाणपत्र भएकाले यसमा सबैको सक्रिय सहभागिता हुनुपर्ने कुरामा जोड दिए । उनले यो परिचयपत्र बनाउन नेपाली नागरिकता अनिवार्य चाहिने भएकाले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिको सन्तानको मनोबल बढाउन पनि राज्यले नागरिकता वितरण गर्नुपर्ने धारणा राखे।

सो अवसरमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागका इञ्जिनीयर योगेश पराजुलीले मोरङको तीन वटा नगरपालिकामा लगभग एक लाख मानिसको परिचयपत्रका लागि विवरण सङ्कलन भइसकेको जानकारी दिए । उनले देशभरमा २५ वटा जिल्लामा परिचयपत्रको विवरण सङ्कलनको काम सम्पन्न भएको र अहिले १२ जिल्लामा काम भइरहेको जानकारी दिए । अहिलेसम्ममा देशभरमा ५० लाख नागरिकको विवरण सङ्कलन भइसकेको भन्दै उनले एक करोड २० लाख परिचयपत्रका लागि सरकारले बोलपत्र आह्वान गरिसकेको बताए।

निकै महत्वपूर्ण अर्थ राख्ने परिचयपत्रले बैंक तथा वित्तीय संस्थाको सेवामा, सवारी चालक, सम्पत्ति कारोबार, नागरिक पहिचान, सामाजिक सुरक्षा, अपराध अनुसन्धान, स्वस्थ्य सेवा, व्यक्तिगत घटना दर्ता, राजस्व सङ्कलन, राहदानी प्राप्ति र युटिलिटी सेवामा मद्दत गर्ने बताइएको छ । मोरङको धनपालथान, रङ्गेली र सुनवर्षी पालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम सम्पन्न भई रतुवामाई नगरपालिकामा सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस