मेलम्चीको पानी छिट्टै राजधानी पुर्‍याइने मन्त्री चौधरीको भनाइ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मेलम्चीको पानी छिट्टै राजधानी पुर्‍याइने मन्त्री चौधरीको भनाइ


१४ पुस २०७८, बुधबार


काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको सुनाए ।

अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौँ ल्याउन लागिपरेको मन्त्री चौधरीले सुनाए । यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उनले बताए ।

पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेलेको उनको भनाई थियो ।

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्त्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिम्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस