निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन


१३ पुस २०७८, मंगलबार


काठमाडौँ । सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो ।

समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी थिइन् ।

सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । दुर्घटनामा थप एक कर्मचारी घाइते भएका छन् । साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विस्फोट भई इन्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । प्रवर्द्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो । आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ ।

ऊर्जामन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी थिइन् । मन्त्री भुसालले उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन् । साहस ऊर्जाका प्रमुख हिमप्रसाद पाठकले दुर्घटनाको बारेमा आन्तरिकरुपमा नै छानबिन भइरहेको र घाइतेको उपचार भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार : सोलुखोला दुधकोशी आयोजनामा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु, एक घाइते

Tags :
प्रतिक्रिया दिनुहोस