यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए


१३ पुस २०७८, मंगलबार


आदेन । यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एक जना सैनिक अधिकारीले जानकारी दिएका छन् ।

गत महिनादेखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सो संयुक्त सेनाले यहाँ सोमबार गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ ।

यसअघि सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । त्यस्तै हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।

मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।गत हप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जनाभन्दा बढी हुथी मारिएका थिए ।

मारिबबाट लखेटिइका हुथी विद्रोहीहरुले पछिल्लो समयमा ताइज प्रान्तमा अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस