सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित


१२ पुस २०७८, सोमबार


काठमाडौँ । खोपका लागि सिरिन्ज अभाव भएपछि भोलि (मंगलबार)देखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिन्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताएका हुन् ।

उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिन्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।’

प्रमुख दाहालले फाइजर खोपका लागि मात्र सिरिन्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे । उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ ।

‘खोप, सिरिन्ज, डाइलुएन्ट सबै सँगै दिनुपर्ने हो । डाइलुएन्ट पनि २९ तारिखमा आउँदै छ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ ,’ उनले भने ।

सिरिन्ज आउने बित्तिकै खोप अभियान सुरु हुने उनले बताए । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस