इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन


११ पुस २०७८, आइतबार


मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको हो ।

जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले रकमान्तर गरेर ५० लाख जुटाएको थियो ।

चालु आवमा भने एक करोड विनियोजन भएको छ । विनियोजित रकममध्ये ५७ लाख ९० हजार खर्च भएको छ । यसमध्ये ५३ लाख २४ हजार पूँजीगतमा र चार लाख ६५ हजार सञ्चालनमा खर्च भएको छ ।

अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सेवा उपलब्ध छ । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा बनाउनेलगायतका सेवा दिइनेछ ।

जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । अस्पतालमा सातौँ तहको एक नेत्र विषेशज्ञ, पाँचौँ तहका एक नेत्र सहायक, एक फार्मेसिष्ट र एक चश्मा बनाउने प्राविधिक राखिएको छ ।

यस आँखा अस्पताल सञ्चालनपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई समेत सहज हुने भएको छ ।

आँखा अस्पतालको सेवा प्रारम्भ भएको नगरउपप्रमुख सुशीला नेम्वाङले जानकारी दिए । उनका अनुसार यस अस्पताल सञ्चालनपछि यस स्थानीय तह र जिल्लाका अन्य स्थानीय तहका बासिन्दाले समेत सेवा लिनसक्ने नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस