चाड पर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चाड पर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति भण्डारी


१० पुस २०७८, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सबै नेपालीमा आपसी सद्भाव सहिष्णुता र एकताको भावनालाई सवल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

येशु ख्रीष्टको जन्मदिन (ख्रीष्टमस) को अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घद्वारा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विविधताबीच एकता र सद्भावको गौरवपूर्ण परम्परालाई हामीले अक्षुण राख्नुपर्नेमा जोड दिइन्।

उनले सांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकको विविधता कमजोरी नभई शक्ति भएको र यही नै मुलुकको मौलिक राष्ट्रिय पहिचान भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले आफ्नो हातलाई आफूलाई मनलागे जति फैलाउन स्वतन्त्र छौँ, तर त्यसले अरुको नाकमा ठेस पुग्नुहुँदैन भन्ने कुरा पनि सबैले विचार गर्नुपर्दछ, यसले नै आपसमा सद्भाव र सहिष्णुतालाई कायम गर्दछ ।’

आआफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि हामी सबै नेपाली भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले फरक आस्थाको कारणबाट देशप्रतिको माया र नागरिकको दायित्व बोधमा कुनै तलमाथि हुन नसक्ने बताइन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको माध्यमबाट यस समुदायले मुलुकको विकासमा गरेको योगदानप्रति धन्यवाद दिइन् ।

आआफ्नो आस्था विश्वास कायम राख्दै आमनागरिकको पहिचानलाई माथि उठाउन सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनुपर्नेमा उनको जोड थियो । राष्ट्रपति भण्डारीले फरक आस्था र विश्वास बोकेका नागरिकप्रति राज्यका तर्फबाट समभाव र समव्यवहार हुनुपर्ने बताइन् । उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा हुने गरी प्रगति पथमा अघि बढ्नुपर्दछ भनिन् ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले धर्मनिरपेक्षता मुलुक नेपालमा सामाजिक र धार्मिक सद्भाव कायम राख्दै समृद्ध देश बनाउनुपर्नेमा जोड दिए । उनले मुलुकको विकासमा लाग्नसमेत सबैलाई अनुरोध गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस