कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै दल दर्ता गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आजै दल दर्ता गर्ने


१० पुस २०७८, शनिबार


काठमाडौँ। राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिबार दल दर्ता गर्दैछ । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले निर्वाचन पुस १ देखि १० गतेसम्मको समय दिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले निर्वाचन पुगेर दल दर्ता गर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा कम्तीमा ५ वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्छ ।

त्यस्तै दलको विभिन्न तहमा कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने व्यवस्था छ । कांग्रेसले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न गएको हो ।

राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् । आगमी पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस