महोत्तरीमा सामाजिक सुरक्षाभत्ता लिन सास्ती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महोत्तरीमा सामाजिक सुरक्षाभत्ता लिन सास्ती


८ पुस २०७८, बिहिबार


जलेश्वर । महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैङ्कको लापरबाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषण भत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैङ्कमार्फत दिन थालिएको छ । भत्ता बुझ्न सास्ती भएको जलेश्वर नगरपालिका– ८ का वृद्ध बहादुर महराले बताए ।

बैङ्कले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरेको कुनै पनि व्यक्तिको काम एकदिनमै नगर्दा सदरमुकाम आवतजावत गर्न सकस भएको जलेश्वर नगरपालिका–३ की शिलादेवीको भनाइ छ । जलेश्वरस्थित प्रभु बैङ्कमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उनले गुनासो गरे ।

बैङ्कले एक दिनमा २०/२५ जनालाई मात्रै भत्ता बाँड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैङ्क पुगेका जलेश्वर नगरपालिका–११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आए पनि पाउन नसकेको गुनासो गरे । घण्टौँ लाइनमा बसेपनि काम नहुँदा रित्तै फर्किनुपरेको उनले सुनाए।

स्थानीय तहले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैङ्किङ प्रणाली अपनाएको हो । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरिया जिम्मेवारी लिएका बैङ्कले व्यवस्थापनमा ध्यान नदिँदा उपभोक्ताले सहज सेवा पाउन नसकेको बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस